दैलेखमा ग्यासको ‘भण्डारण’ भएका सङ्केत भेटिए

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएका अधिकारीहरूले बताएका छन्।

तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे वा नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ।

उत्तरी छिमेकी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ‘ड्रिलिङ’ अन्तर्गत ४,००० मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकाल्न सुरु भएको थियो। शुक्रवार सम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।

बाँकी ५६ मिटर ड्रिलिङ छिटै सकिने आकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिए। “त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्न सक्छ,” त्रिपाठी भन्छन्।

ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको र त्यसभन्दा तलको गहिराइमा पनि विभिन्न तहमा ग्यास भेटिएको त्रिपाठी बताउँछन्। “अहिलेसम्मको ड्रिलिङको तथ्याङ्कहरूले सकारात्मक सङ्केतहरू दिएका छन्,” त्रिपाठी भन्छन्।

यस अघि चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम सक्ने फेब्रुअरी २८ सम्मको समयसीमा पाएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *