निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर पूजा गरेका छन् । स्वयम्भूमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेका छन् । बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।
विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । पूजा र प्रार्थनापछि उनले त्यहाँ तस्वीर खिचाएका थिए ।
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।
करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे । आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।