काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ। शुक्रबार बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले जानकारी दिए।
‘बिहान साढे ९ बजेतिर कार्यालयमा ल्याएर १० बजेदेखि बयान सुरू भएको हो,’ उनले भने। कार्यालयमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई बिहीबार बेलुका काठमाडौं ल्याइएको थियो। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।
स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो। सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।
२०७८ साउन ४ मा सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ ।
जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा पनि ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको थियो। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।