लामो समयदेखि कर्जा प्रवाहमा शिथिलता आउँदा बैंकहरूमा करिब छ महिनादेखि पूरै वर्षभरिलाई लगानी गर्न पुग्ने रकम थुप्रिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को लागि ल्याएको मौद्रिक नीतिमा निजी क्षेत्रतर्फ जाने वार्षिक कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
राष्ट्र बैंकको यस प्रक्षेपण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट यो आर्थिक वर्षभरिमा ६ खर्बभन्दा केही बढी रकम कर्जा लगानी हुनुपर्छ। तर, बैंकहरूमा गत वैशाखदेखि नै लगभग यही दरमा कर्जा लगानी योग्य पुँजी थुप्रिएको छ।
‘कर्जा जान नसकेर करिब ६ महिनादेखि बैंकहरूमा ६–७ खर्ब बराबर रकम थुप्रिएको छ,’ नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले भने। कर्जा लगानी हुन नसक्नुमा नयाँ कारण थपिएका छैनन्। सहकारीहरूमा समस्या आउँदा साना तथा मध्यम वर्गहरूको पुँजी फस्नु, घरजग्गाको कारोबार वृद्धि हुन नसक्नु, युवा जनशक्तिको विदेश जाने क्रम उच्च दरमा हुनु नै मुख्य कारण छन्।
पछिल्लो समय सेयर बजार पनि स्थिर जस्तै भएकोले यसले पनि उपभोग बढाउन सकेको छैन। सेयर बजारमा प्रतिफल बढ्दा मानिसहरूले उपभोग, घरजग्गा तथा अन्य क्षेत्रमा लगानी बढाउने मानिन्छ।
यसले गर्दा आन्तरिक उपभोग घटेको छ र कर्जाको माग बढ्न सकेको छैन। बैंकरहरूले दसैं-तिहारको लागि आयातमा आधारित कर्जाको माग बढ्ने, यो चाडपर्वको अवधिपछि निर्माण क्षेत्र चलायमान भएर त्यहाँबाट पनि माग बढ्ने अपेक्षा गरेका थिए।
तर, त्यस्तो नदेखिएपछि बैंकरहरू तनावमा छन्। सरकारको पुँजीगत खर्च नबढ्दा पनि कर्जाको माग बढ्न नसकेको हो। अहिले न्यून लागतमा पुँजी पाउने अवस्थामा समेत लगानी गर्न व्यवसायीहरू उत्साहित हुन सकेका छैनन्।
यही कारण बैंकरहरूले आगामी मंसिरको लागि पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। अहिले निक्षेपको ब्याजदर न्यूनतम औसत तीन प्रतिशतदेखि अधिकतम औसत ६.१४ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।
बैंकरहरूका अनुसार अहिले अटो कर्जा, सेयर कर्जा र केही जलविद्युत कम्पनीहरूमा गइरहेका छन्। भरतपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन थालेको कारण आगामी दिनमा त्यहाँ रहेका होटल लगायतका क्षेत्रबाट पनि कर्जाको माग बढ्न सक्ने अनुमान बैंकरहरूको छ।
गत असोजमा गएको बाढीको कारण काठमाडौं क्षेत्रमा समेत क्षति पुगेकोले यो क्षेत्रमा पुनर्निर्माणको काम हुने अपेक्षाले पनि केही न केही कर्जाको माग बढ्ने अपेक्षामा बैंकरहरू रहेका छन्।
‘अहिले राष्ट्र बैंकमा बैंकहरूले तीन प्रतिशत ब्याजदरमा पैसा राखेर बस्न परिरहेको छ, त्यसैले बैंकहरूले कर्जा लगानीको लागि केही न केही गर्नैपर्ने भएको छ,’ केसीले थपे, ‘यसरी थप समय पुँजी निष्क्रिय राखेर बस्न सकिँदैन।’