अधिकारीको जापान भ्रमणबारे छानबिन गर्न एमालेको आग्रह

नेकपा एमालेले कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले उनीमाथि लागेका सबै आरोपको वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन गर्न सरकारी निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘उहाँको बारेमा लागेका सबै आरोपका वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन राज्यका निकायले गरुन्, त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग हुनेछ’, उनले भने ।

कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका थिए । त्यस क्रममा उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण सामर्थ्य लगाउने निर्णय गरेको ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *