जेल नै नबसी रिहा भए लुम्बिनी प्रदेश सभा सदस्य केसी

आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।

उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए । स्रोतका अनुसार उनलाई आइतबार राति कारगारमा राखिएको थिएन । 

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *