काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भारतीय राज्यमन्त्री खड्से ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय नागरिक पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो ।
आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा भारतीय एयरफोर्सको जहाज भरतपुर विमानस्थलमा ल्याण्ड हुने उनको भनाइ छ । प्रजिअ यादवका अनुसार दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।
दुर्घटनामा मृत्यु भएकाहरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । यहाँबाट शव लिएर महाराष्ट्रको नसिक जाने जानकारी आएको उनले जानकारी दिएका छन् ।
बस दुर्घटनामा मृत्यु भएकाहरुको शव लिन र घाइतेहरुलाई भेट्न भारत केन्द्र सरकारका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आइपुगेकी थिइन् । काठमाडौं ओर्लनेवित्तिकै उनी घाइतेहरुलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी थिइन् ।