जग्गा विवादमा छिमेकीले गराएका थिए पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको कारण खुलेको छ। 

जग्गा सम्बन्धी विवादका कारण घरमा काम गर्ने सहयोगीले रायको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कविलासी नगरपालिका-३ स्थित मदनपुरका २५ वर्षीय रामउजैन राय यादवले उनको हत्या गरेको खुलेको हो। रामउजैन रायको घरमा काम गर्ने सहयोगी हुन्। 

साउन ७ गते राति चन्द्रनगर गाउँपालिका-१ स्थित फार्म हाउसमा रायको हत्या भएको थियो। टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो। 

रतनपुर बस्ने ४५ वर्षीय वीरेन्द्र रायले राम उजैनमार्फत् उनको हत्या गराएको अनुसन्धानमा खुलेको डिएसपी दीपक श्रेष्ठको भनाइ छ। 

पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको छ। उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएको प्रहरीले जनाएको छ।

‘करिब एक महिनाअघि वीरेन्द्रले रामउजैनमार्फत् पूर्वराज्यमन्त्रीको घर-जग्गाको नक्सा झुक्याई मागेर फोटो र भिडिओ खिचेका थिए। त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो बताउँदै आएका थिए,’ डिएसपी श्रेष्ठले भने, ‘घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेका रहेछन्।’

‘त्यसको बदलामा रामचन्द्रको हत्या गर्नुपर्ने उनको सर्त थियो। उनकै उक्साहट र प्रलोभनमा रामउजैनले हत्या गरेका हुन्,’ डिएसपी श्रेष्ठले भने।

Ncell

सुरूमा रामउजैनले प्रहरीलाई बाहिरबाट जग्गा सम्बन्धी विवाद मिलाउन भन्दै आएका तीन जनाले हत्या गरेको हुन सक्ने बयान दिएका थिए। तर पोलियोग्राफ टेस्टमा उनको बयान झुटो देखिएको प्रहरीको भनाइ छ। 

यस्तै, सोधपुछ गर्दै जाँदा उनले वीरेन्द्रको उक्साहटमा आफूले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।

हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा रामउजैनले घटनास्थलबाट करिब २५ मिटर पश्चिम बाँसको झाडीमा फालेका थिए। घटनाको भोलिपल्टै उक्त हतियार रगत र रायको कपाल टाँसिएको अवस्थामा फेला परेको थियो। 

घटना बखत उनले लगाएको गन्जी च्यातेर तीन टुक्रा पारी बेरेर गोलो बल बनाई बारी छेउको बाटोतर्फ फ्याँलेका थिए। पक्राउ परेका दुवैजना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *