अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ।
केन्द्रकाअनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ।
ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले पनि औंल्याएको छ। सो क्षेत्र भई बहने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन केन्द्रले भनेको छ।
पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्यो?
महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा दैलेखको ग्वाटीमा भारी वर्षा भएको छ। त्यहाँ ९२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै पर्वतको कार्कीनेटामा ८८ मिलिमिटर वर्षा भएको छ।
सिन्धुपाल्चोक र काठमाडौंका केही भूभागमा पनि भारी वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको दुबाचौरमा ७३ मिलिमिटर, नवलपुरमा ५५.६, बाहुनेपाटीमा ५०.२ मिलिमिटर वर्षा भएको छ। बाँसखर्कमा ५० र गोबरे केन्द्रमा ४८.८, मानेखर्कमा ४४.८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंको सुन्दरीजल केन्द्रमा ५३.२, कपन क्षेत्रमा ६४.८, बबरमहल मापन केन्द्रमा ६२.२, नैकापमा ५५.८ मिलिमिटर वर्षात भएको छ।