उच्च अदालत पाटनले होटलमा बस्न पीडित (गौशाला २६) को सहमति रहेको र उनले आवेगमा जाहेरी दिएको ठहर गर्दै बलात्कार मुद्दाबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ। न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन।
बलात्कारको अभियोगबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिँदा होटलमा बस्न पीडितको सहमति, उनले कसैलाई पठाएको मेसेज, सन्दीपका साक्षी र होटलका स्टाफको बयानलाई आधार लिएको छ। पीडितको बयान तथा स्वास्थ्य जाँच प्रतिवेदन भने स्वतन्त्र प्रमाणले पुष्टि नहुने इजलासले बताएको छ।
पीडितले ‘सन्दीप लामिछानेसँग केही दिनअघि आफूले अंकमाल गरेको’ भन्दै खुसी भएको इमोजीसहित कसैलाई पठाएको म्यासेजलाई पनि अदालतले बलात्कार नभएको प्रमाण मानेको छ।
त्यस्तै, सन्दीप लामिछानेको साक्षी बनेर उपस्थित भएकी पीडितकी रूममेटले दिएको बयानलाई पनि अदालतले प्रमाण मानेको छ। उनले सन्दीपलाई भेटेर आएपछि गौशाला २६ खुसी देखिएको, सन्दीपको पक्षमा हुटिङ गरेको लगायतका बयान दिएकी थिइन्। सन्दीपका साक्षी र होटलका स्टाफहरूको बयानबाट पनि सन्दीपले बलात्कार नगरेको पुष्टि गरेको फैसलामा उल्लेख छ।
भेट्न गएकोदेखि होटलमा सँगै बसेको सम्मका परिस्थितिलाई सन्दीपले स्वीकार गरेको त्यसमा पीडितको सहमति नै देखिएको इजलासले ठहर गरेको छ। ‘प्रतिवादीले म तिमीलाई एउटा होटलमा एउटा कोठा लिइदिन्छु म क्लोज क्याम्प रहेको होटलमा साथीहरुसँग बस्न जानुपर्छ भन्दा पीडितले नमानी आफूलाई एक्लै नछोड्नु भनी जिकिर गरेको, दुवै जना स्व:फूर्त रूपमा नगरकोटको बोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमति बमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने देखिँदैन,’ फैसलामा उल्लेख छ।
पीडितले भने, २०८० साल भदौ ५ गते सन्दीपले नै ‘भोलिदेखि केन्यामा हुन गइरहेको क्रिकेट प्रतियोगितामा जाने भएकाले आजै भेटौँ भनेपछि भेटेको, नगरकोट जानेबारे आफूलाई पूर्व जानकारी नभएको, फर्किंदा रात परेकाले होस्टलमा जान नमिल्ने भनेपछि सन्दीपले नै काठमाडौं इन भन्ने होटलमा लगेको र आफू निदाइरहेका बेला आफूलाई जबरजस्ती करणी गरेको’ भन्दै जाहेरी दिएकी थिइन्। उनले यही बेहोरा अदालतमा दिएको बयानमा पनि उल्लेख गरेकी थिइन्।
पीडितको बयानमा आफूले सन्दीप लामिछानेलाई फ्रेण्ड रिक्वेस्ट पठाएपछि कुराकानी सुरू भएको उल्लेख छ। सन्दीपले नै भेट्ने इच्छा गरेको पनि उनले अदालतलाई बताएकी छन्। आफूले फुर्सद हुन्न भन्दा भोलिपल्ट केन्या जाने र २ महिनापछि मात्र नेपाल फर्कने हुँदा आजै भेटौं भनेर सन्दीपले दुईपटक फोन गरेपछि आफूले भेट्ने तय भएको उनको बयानमा उल्लेख छ।
सन्दीप गाडी लिएर भेट्न आएको र गाडीमा बसेपछि नगरकोटतिर लगेको उनले बताएकी छन्। नगरकोट जानेबारे आफूलाई थाहै नभएको पनि उनको बयानमा उल्लेख छ। सन्दीपले नगरकोटको बोजिनी रिसोर्टमा पुऱ्याइ कोठा बुक गर्छु भनेकोमा आफूले नमानेपछि राति काठमाडौं फर्किएको, होस्टलमा जान नमिल्ने हुँदा गौशालाको होटलमा बसेको बयान अदालतमा दिएकी छन्।
‘लुगा नफुकाली सुतेकोमा सवा १२ बजेपछि सन्दीपले आफ्नो लुगा फुकाली इच्छाविपरीत जबरजस्ती करणी गरी शरीरमा वीर्य झारिदिएको र सोको १ घण्टा पछि पुनः जबरजस्ती करणी गरेको,’ पीडितको भनाइ थियो। आफूलाई सन्दीपका परिवारलेले बयान फेर्नका लागि डर धम्की धाक दिइरहेको पनि अदालतसमक्ष बयान गरेकी थिइन्।
त्यसको १५ दिनपछि गौशाला प्रहरीमा जाहेरी परेको थियो। त्यसपछि भएको स्वास्थ्य परीक्षणमा पीडितको कन्याजाली च्यातिएको उल्लेख थियो। पीडितको बयान तथा स्वास्थ्यजाँच प्रतिवेदन भने स्वतन्त्र प्रमाणले पुष्टि नगरेको इजलासले बताएको छ।
‘प्रस्तुत मुद्दामा हेर्दा, पीडित बाहेक अन्य चस्मदित (तत्काल घटनाका बारेमा देख्ने र सुन्ने) व्यक्ति कोही देखिँदैन,’ फैसलामा भनिएको छ, ‘पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कन्याजाली च्यातिएको भन्ने देखिएता पनि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन मात्र कसूर ठहर हुने अकाट्य प्रमाण मान्न सक्ने देखिँदैन। जसलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्छ।’
बयानका सन्दर्भमा पनि अदालतले यही कुरा भनेको छ। ‘प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भनी मूल रूपमा आरोपित कसूरमा इन्कार रहेको पाइन्छ,’ फैसलामा भनिएको छ, ‘पीडितकै भनाइ मात्र कसूर ठहर गर्ने प्रमाण हुन नसक्ने अन्य स्वतन्त्र प्रमाणले पीडितको भनाइ पुष्टि हुनु पर्छ।’
न्यायाधीश भट्ट र उप्रेतीको इजलासले परिस्थिति हेरेर जिल्ला अदालतले सन्दीपलाई सजाय गरेको कुरा नमिलेको भन्दै उल्ट्याइदिएको हो। ‘प्रतिवादीले पीडितलाई करणी गरेको भनी परिस्थितिजन्य प्रमाणको रूपमा सुरू अदालतले ग्रहण गरे पनि सो स्वतः अनुमान गर्न मिल्ने नभइ परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधार बिन्दु र सम्बद्ध तथ्यको कडी एकआपसमा एकबद्ध रूपले आवद्ध एवम् गाँसिएको हुनुपर्छ,’ फैसलामा भनिएको छ, ‘सो गाँसिएको प्रमाणको कडीमा कुनै छुट हुनु हुँदैन, एउटा तथ्यसँग अर्को तथ्य अन्योन्याश्रित हुनु अपरिहार्य हुन्छ। प्रस्तुत मुद्दामा प्रतिवादी उपरको कसूर वस्तुनिष्ठ रूपमा ठहर हुने त्यस्तो शंका रहित प्रमाणको क्रमबद्धता रहेको देखिँदैन।’