बाँकेमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गएराति नेपालगञ्ज उपमहानगरपालिका-११ टाँगा स्टेसन नजिक दुई समूहबीच झगडा भइरहँदा छुट्याउन गएका स्थानीय ३० वर्षीय इसाद राई र नेपालगञ्ज उपमहानगरपालिका-९ बाँके गाउँका १९ वर्षीय फैजन अन्सारीमाथि खुकुरी प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्। फैजनको भने उपचार जारी छ।
एसपी कार्कीका अनुसार राति ११ बजे सडक छेउमा दुई समूहबीच झगडा भइरहँदा उनीहरू छुट्याउन भनेर भीडभित्र छिरेका थिए। त्यही क्रममा खुकुरी प्रहार भएको हो। खुकुरी कसले प्रहार गरेको भन्ने खुलेको छैन। झगडा गर्ने दुई समूहका सबैजना फरार रहेको पनि एसपी कार्कीले बताए।
घटनाको खबर पाउनासाथ एसपी कार्कीको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर दुई जना घाइतेलाई उद्धार गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि पुर्याएको थियो।
अस्पताल पुर्याउनसाथ साथ राति ११ बजेतिर चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए । अन्सारीको छाती, बाँया कान र बाँया हातमा खुकुरी प्रहारबाट घाउ खत लागेको छ। उनको अवस्था मध्यम रहेको छ ।
खुकुरी प्रहारमा संलग्न व्यक्तिहरू फरार रहेको तथा उनीहरुको खोजी कार्य जारी रहेको एसपी कार्कीले बताए । घटनाबारे थप अनुन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।