सिमलतालमा पहिरोः त्रिशूलीमा खसेको बस र यात्रुको खोजी सुरू

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिए।

‘टोली परिचालन भइसकेको छ। शुक्रबारको तुलनामा आज खोजी कार्य पनि अलि सहज हनेछ,’ उनले भने।  शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताए।

‘हिजोको तुलनामा पानीको बहाब कम छ। अहिले पानी पनि परेको छैन त्यसैले आजको खोजी अझै प्रभावकारी हुनेछ’ डिएसपी रिजालले भने। उनका अनुसार नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन्।

शुक्रबार बस खसेको सिमलताल र त्यस वरपर ५ किलोमिटर क्षेत्रमा चुम्बक र रड प्रयोग गरी खोजी गरिएको थियो। त्यसक्रममा बसको पर्दा र कपडा भेटिएको थियो।

‘शनिबार खोजि अझै बृहत र प्रभावकारी हुनेछ,’ डिएसपी रिजालले भने। बिहीबार राति काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ  आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका थिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *