रास्वपाबाट निकालिए मुकुल, ३५ दिन भित्र पुनरावेदन गर्न पाउने

काठमाडौं । डा. मुकुल ढकालले पार्टी महामन्त्री पद गुमाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणका एक खम्बा ढकाल रास्वपाको साधारण सदस्य मात्र बाँकी छन् ।  मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उनलाई महामन्त्री र प्रवक्ताबाट पदमुक्त गरिदिएको हो ।  बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी दिए ।  साथै उनलाई ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ ।  यदी मुकुलले आफूलाई पार्टीमै फर्काउन चाहन्छन् भने ३५ दिनभित्र निवेदन दिएर पुनः पार्टीका संरचनालाई फेस गर्नुपर्नेछ । 

मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय नेताले मुकुलले अब पार्टीमा स्पेस गुमाइसकेको बताए ।  उनले ३५ दिने औपचारिकतामात्र भएको भन्दै पार्टी नयाँ महामन्त्रीको खोजीमा रहेको प्रतिक्रिया दिए । “औपचारिकता पूरा गरेका हौं । मुकुललाई पार्टीमा कुनै स्पेस छैन । किनभने उनी यो पार्टीका लागि लायक भएर निस्केनन्,” उनले भने । 

पार्टीको यो निर्णय सार्वजनिक भएसँगै डा. ढकालले पनि आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन् । उनले पार्टी सभापति रवि लामिछाने क्लबबाट आफू निस्कासित भएको भन्दै घण्टी बज्न नरोकिने चेतावनीनै दिएका छन् । “रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,” उनले भनेका छन्,“रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…”

उनलाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिएको छ । असार १९ गतेको केन्द्रीय समितिको बैठकले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित, अनुशासनहीन र पार्टी हित विपरीत काम गरेको भन्दै सात दिन निलम्वन गरेको थियो । 

ढकालले देशभर घुमेर पार्टीको पोजिसनबारे बनाएको प्रतिवेदमाथि छलफलको विषयमा असन्तुष्टि जनाएका थिए ।  उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुखमा टेप लगाएर बैठकमा बसेका थिए । साथै प्रतिवेदन र बैठकको एजेन्डा पनि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए । बैठकअवधिभर उठेका प्रश्नको जवाफ नदिई महामन्त्री हिँडेको र मिडियामा नभएका कुरा ल्याएको भन्दै अनुशासन उल्लंघन गरेको ठहर पार्टीको थियो ।

त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन पार्टीले निर्देशन दिएको थियो ।आयोगले असार २३ गते प्रतिवेदन बुझाएको थियो । मंगलबारको केन्द्रीय समिति बैठकले पार्टीको आचार संहिताको दफा ४ १ को क, ख, च, प, र फ एवं दफा ४ को उपदफा २ को ख, दफा ५ को क र ख, दफा ६ को क, ख र दफा ९ को क, ख, ग र घ समेत उल्लंघन भएको ठहर गरेको छ ।

केन्द्रीय अनुशासन आयोगले साधारण सदस्य नरहने र भविष्यमा सदस्यसमेत बन्न रोक लगाउने गरी हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिस केन्द्रीय समितिमा गरेको थियो । 

मुकुलको अबको विकल्प के ? 

मंगलबारको बैठकपछि केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाल आफै पार्टीमा फर्कन चाहेजस्तो नदेखिएको बताए । सानो सिक्रीमा हात्ती बाँधिएको उदाहरण प्रस्तुत गर्दै रास्वपामा महामन्त्रीसँग सभापति नतमस्तक हुनु अचम्मको विषय भएको उल्लेख गर्छन् ।

सभापतिलाई सिक्रीमा बाँधिएको हात्तीको तुलना गर्दै उनले भनेका छन्, “पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति यसरी नतमस्तक हुनुको कारण खोज्थेँ, भेट्दिन थिएँ । विधान अनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनु, त्यसको स्वामित्व लिनु सही हुन्थ्यो । तर महामन्त्रीप्रतिको असीमित लगावले त्यस्तो मात्र देखिन्न थियो, सभापतिलाई सिक्रीमा बाँधिएको हात्ती जस्तो देखिन्थ्यो ।”

उनले आजबाट त्यो सिक्री टुटेको रास्वपा मुकुल क्लबबाट निस्किएर पूर्णरूपमा स्वतन्त्र भएको उल्लेख गरेका छन् । “पार्टीतिरको त्यो सिक्री आज टुटेको छ । बन्द कोठाको चुकुल खुलेको छ । मुकुल क्लबबाट निस्किएर पूर्णरुपमा स्वतन्त्र हुने बाटोमा लाग्नु भएकोमा बधाई छ, सभापतिज्यू !,” उनले थपे ।  

पार्टीबाट कारबाही भोगेका मुकुलले अब के गर्छन् भन्ने चासोको विषय भनेको छ । यो विषयमा उनी आफैँले मुख खोलेका छैनन् । ३५ दिनभित्र पुनः स्पष्टीकरण बुझाए पनि पार्टीमा स्पेस दिन नहुने मत बलियो छ ।  एक नेताका अनुसार मुकुलले पार्टीभित्र आफ्नो छुट्टै गुट चलाउने वा पार्टी फुटाएर लैजान सक्ने अवस्थामा थिएनन् र छैनन् । 

“महामन्त्रीको रूपमा हामीले मानेका थियौं । उहाँ अब फर्केर आउने सम्भावना छैन,” ती नेताले भने, “उहाँसँग पार्टी विभाजन गर्ने तागत पनि छैन । पार्टीमा हुँदा पनि उहाँले त्यो ल्याकत राखेको होइन ।”

पार्टीका अर्का एक सदस्यका अनुसार महामन्त्री ढकाल पछिल्लो समय बढी उत्तेजनामा आउने र घमण्डको पराकाष्ठा नाघेको आरोप लगाउँछन् । त्यसैले उनी र सभापतिबीच केही इगो थियो कि भन्ने आशंका गर्छन् । त्यसैले पनि उनी अब रास्वपामा फर्कने बाटो एकदमै साघुँरो भएको तर्क उनको छ । 

“अब दुर्गा प्रसाईंहरुको अभियानमा जोडिने हो कि पूराना दल एमाले वा अन्य कुनैमा गएर उहाँले राजनीति गर्ने हो त्यो उहाँले जान्नुहोला,” ती नेताले भने, “हामी नयाँ महामन्त्री बनाउँछौं र पार्टी अघि बढाउँछौं ।”

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ भने लोकतान्त्रिक दलमा समस्याहरुको समाधान पनि लोकतान्त्रिक विधि प्रकृयाबाट समाधान गरिनुपर्ने बताउँछन् । फरक मतको पनि उत्तिकै सम्मान हुने भन्दै उनी विधि प्रकृया मान्दा ढकाललाई अझै आफूलाई स्पष्ट पार्ने अवसर पार्टीले दिएको बताउँछन् ।

राजनीतिमा यस्ता उत्तारचढाबलेनै परिपक्व राजनीतिक दल, राजनीतिक नेतृत्व र संस्कारयुक्त राजनीतिक अभ्यास स्थापित हुँदै जाने भनाइ उनको छ । 

“लोकतान्त्रिक दलमा विधि प्रकृया अनुसार समस्या समाधान हुँदै जान्छन् । यसरीनै हो विधि प्रकृया स्थापित हुने र संस्कारयुक्त राजनीतिको बलियो जग बस्ने,” उनले बाह्रखरीसँग भने, “उहाँ(मुकुल ढकाल) सँग ३५ दिन अझै समय छ । आफूलाई स्पष्ट पार्नुहुन्छ र आफैले बनाएको दललाई जनताको सेवक बनाएर अघि बढाउनुहुन्छ भन्ने विश्वास मलाई छ ।”

उनले अब पार्टीले के गर्छ भन्ने विषयमा भने ३५ दिन पर्खने र परिस्थिति जस्तो निर्माण हुन्छ त्यसैअनुसार निर्णय गरेर अघि बढ्ने जानकारी दिए ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *