देशव्यापी रूपमा परेको अविरल वर्षातले एक दर्जन बढी राजमार्ग अवरूद्ध हुन पुगेका छन्। बाढी पहिरोका कारण विपी, पासाङ ल्हामु, सिद्धार्थ, मध्यपहाडी लगायत राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले दिउँसो १ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कान्ती लोकपथ ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा अवरुद्ध छ।
चित्लाङ—मकवानपुर सडक पनि चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा अवरूद्ध छ। दक्षिण कोसी राजमार्ग संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ मा अवरूद्ध छ। त्यस्तै बाढीका कारण कोसी राजमार्ग संखुवासभाकै भोटेखोला गाउँपालिका वडा नम्बर ४ मा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। सिद्धिचरण राजमार्ग उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ मा अवरूद्ध छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५ मा पहिरो जाँदा स्याफ्रुबेसी—थाम्बुचेत सडक खण्ड अवरूद्ध हुन पुगेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरो जाँदा चखेल—देउराली सडक पनि अवरूद्ध छ। मकवानपुरकै भीमफेदीमा पहिरो जाँदा कान्ती लोकपथ अवरूद्ध छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर २ मा पहिरो जाँदा विपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा पहिरो जाँदा मध्यपहाडी राजमार्गसमेत अवरूद्ध बन्न पुगेको छ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर ८ मा पहिरो गएकाले विपी राजमार्ग त्यहाँ पनि अवरूद्ध छ।
पाँचखाल नगरपालिका वडा नम्बर ८ मा पहिरो जाँदा अरनिको राजमार्ग एकतर्फी बनेको छ। मनाङको चामे गाउँपालिकामा बाढीका कारण चामे—बेसीसहर सडक खण्ड अवरूद्ध छ।
बेनी—दरबाङ सडक पनि म्याग्दीको बेनीमा पहिरो गएकाले अवरूद्ध छ। म्याग्दीकै रघुगंगामा गएको पहिराले बेनी—जोमसोम सडक खण्ड अवरूद्ध छ। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरोका कारण बेसीसहर—मनाङ सडक अवरूद्ध छ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० मा पहिरो खसेकाले सिद्धार्थ राजमार्ग अवरूद्ध छ।