मध्यपहाडी लाेकमार्गकाे रुकुम पूर्व र पश्चिम खण्ड अवरुद्ध

केहि दिन देखिको निरन्तर वर्षासँगै पहिराे खस्दा मध्यपहाडीकाे यात्रा निकै नै जाेखिमपूर्ण र कष्टकर बनेकाे छ । अविरल बर्षा पछि आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।

रुकुम पूर्व खण्ड अन्तर्गत सिस्ने गाउँपालिका वडा नम्बर ६ को रानिकोटमा झरेको पहिरोले सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वबाट रुकुम पश्चिम हुँदै दाङ, नेपालगन्ज सम्म जाने तथा रुकुम पश्चिम देखि रुकुम पूर्व हुँदै बागलुङ पोखरा र काठमाडौँसम्म जाने गाडीहरू रानिकोटमा रोकिएका छन् ।

सडक खुलाउन प्रयास गरिएता पनि निरन्तर पानी परिरहेका कारण सडक खुलाउन नसकिएको प्रजिअ शर्माले बताए । प्रजिअ शर्माले मध्य पहाडी लोक मार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध समेत गरिएको छ । कमजोर भूगोलका कारण केही दिन यता यस क्षेत्रमा पहिरो झरिरहेको छ ।

यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ८ किटिनीमा पनि निरन्तर सडकमा पहिरो खसिरहेको छ । यहाँ पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बर्खा सुरु भएसँगै मध्यपहाडी लाेकमार्गकाे रुकुम पश्चिम र रुकुम पूर्वका विभिन्न ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

यस क्षेत्रको यात्रा समेत जोखिमपूर्ण बनेको छ । निरन्तर पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको छ भने पहिरो पन्छाएर खुलाएको सडक पनि एकै छिनमा पुनः अवरुद्ध हुने गरेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको भनाई छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *