काठमाडौँ । पुनः निर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन । वि सं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनः निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनः निर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनः निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताइन् । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ ।
विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनः निर्माण समिति गठन भएको थियो । काष्ठमण्डप पुनः निर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनः निर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनः निर्माणका लागि सम्झौता भएको थियो ।
सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई रु ५० लाख उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ९ गते रु पाँच करोड र २०७८ असार १६ गते रु एक करोड उपलब्ध गराएको प्रमुख राईले बताइन् ।
पुनः निर्माणका लागि महानगरले उपलब्ध गराएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरूपमा पुनः निर्माण गरिएको हो ।