काठमाडौंमा आज दिनभरी झरी पर्ने

काठमाडौं उपत्यकामा निरन्तर झरी परिरहेको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा पानीपोखरीमा ७६.२ मिलिमिटर, कीर्तिपुरमा १०२ मिलिमिटर, नैकापमा ९७.६ मिलिमिटर, कपनमा ५८.४ मिलिमिटर, सुन्दरीजलमा ५५.२ मिलिमिटर, धापमा ८५ मिलिमिटर, ललितपुरको टीकाथलीमा ८०.६ मिलिमिटर, लेलेमा १३७ मिलिमिटर वर्षा मापन भएको छ।

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेका कारण त्यसको प्रभावका कारण लगातार वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार काठमाडौंमा आज दिनभरी झरी पर्ने सम्भावना छ। ‘रोकिएको जस्तो हुने र तत्काल सुरू भइहाल्ने वर्षाको प्रवृत्ति देखिएको छ। आज दिनभरी पनि त्यस्तै रहने पूर्वानुमान् छ,’ उनले भनिन्।

उनले आइतबारसम्म पनि पानी पर्ने क्रम नरोकिने बताइन्। ‘भोलि आजभन्दा कम हुने देखिन्छ तर रोकिने सम्भावना छैन,’ उनले भनिन्। पछिल्लो २४ घन्टामा पाल्पा र स्याङ्जामा अति भारी वर्षा मापन भएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ। ‘विस्तारै लुम्बिनी प्रदेशमा र गण्डकी र बागमतीमा पनि २०० मिलिमिटर कट्ने देखिन्छ,’ मौसमविद् मानन्धरले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *