धर्म, संस्कार, संस्कृति र शिक्षाबाट मानिसको आदत र आचरण परिस्कृत हुन्छ। अनि सभ्य समाज र सभ्यताको विकास हुन्छ। प्रश्न उठ्छ, धर्म के हो? असल नियतले धारण गरिने नीति, नियम तथा पद्धति नै धर्म हो।
जीव र जगतको उद्धारको अवधारणा लिएर गरिने राम्रो कार्य धर्म हो। कालान्तरमा अनेक धर्महरू आए। धर्मका अनेक नामहरू आए। हिन्दु, बौद्ध, इसाई, मुस्लिम, सिख आदि। तर सबै धर्मको मर्म एउटै हो। कुनै पनि धर्म मानव, प्रकृति, जीव र जगतको कल्याणकारी नै हुनुपर्छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’ तर ऋग्वेदमा ‘ब्राह्मणोस्य मुखासिदाहु राजन्य कृतः उरूतदस्य यद् वैश्य पादभ्याम् सुद्रोऽजायत’ भनिएको छ। अर्थात् विश्व पुरूषको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्री, जाङबाट वैश्य र पैतालाबाट शूद्र चार वर्ण उत्पत्तिको सिद्धान्त हिन्दु धर्मशास्त्रहरूले औंल्याएका छन्। जातीय छुवाछूत, भेदभाव, उचनिचको व्यवहारले मानिस-मानिस बीचमा असमानता रहेका छन्। राणा शासनकाल १९९७ सालमा भएको राजनीतिक काण्डमा हिन्दु राष्ट्र नेपालले पनि रूप देखाइसकेको छ।
शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त र दसरथ चन्दलाई मृत्युदण्डको सजाय भयो भने टंकप्रसाद आचार्य हिन्दु धर्मबाटै निर्धारित ब्राह्मण भएकाले मृत्युदण्डबाट बचे। यस्तो प्रथा तथा राजाको हुकुमबाट जात माथि र तल हुने मान्यता कहिलेसम्म बोकेर हिँड्ने? ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत कहिलेसम्म बजाउने? धर्मबाट मानवको भलाई हुनुपर्ने हो, तर यी धर्मबाटै असमानता, ठगी, काटमार चलाइरहेका छन्। अहिले जुन प्रकारले धर्मको पक्षमा नारा चलिरहेको छ, राजनीति चलिरहेको छ, देश र जनताको लागि भ्रम र धोका भइरहेको छ।
शारीरिक र मानसिक दोेषहरूलाई समाप्त गर्नु नै संंस्कारको कार्य हो। मानिस जन्मदेखि मृत्युपर्यन्त गरिने कर्मकाण्ड तथा समय-समयमा मनाइने चाडपर्व नै संस्कार र संस्कृति हुन्। यसमा स्थान र जातजाति अनुसार केही फरक-फरक छन्। जस्तै गथाम्वः चहे्र -गथेमंगल) पर्व घरआँगन सफा गर्नेर्, गाईजात्रा कृषिजन्य पौष्टिक वस्तु खाने कृषिमै आधारित रही मनोरञ्जन गर्ने, बडादसैं आफ्नो व्यवसायको ज्यावल उपकरण सरसफाइ गरी आध्यात्मिक शक्ति साधनाका साथ आफन्तहरू सबै एकत्रित भई रमाउने, आमाबाबुको मुख हेर्ने, भाइटीका, जात्रा मेलापर्व आदि आपसी सद्भाव, सम्बन्ध र सहयोगले संगठित तथा एकता कायम गर्ने माध्यमको धरोहरको रूपमा रहिआएको छ।
त्यस्तै जीवजन्तु र प्रकृतिको संरक्षण र सम्मान गर्न जीवजन्तुलाई पूजा गरी मनाइने विभिन्न पर्वहरू छन्। जस्तै ः गाईगोरु, कुकुर, काग, नाग, भ्यागुता पूजा तथा वनस्पतिमा तुलसी, वरपीपल, कुस आदि छन् भने वनजंगल संरक्षण गर्न वनदेवीको रूपमा पूजा गर्ने, कुवा, पोखरी, तलाउ, ढुंगेधारा, इनार सिथि पर्व -कुमारखष्टी) को दिन सरसफाइ गर्ने, नदीनाला, बचाउ र संरक्षण गर्न वागमती, विष्णुमती आदि देवीको रूपमा मानी स्नान मेलापर्व मनाउने आदि रहेका छन्।
कुन समयमा के गर्ने, के खाने, कस्तो लगाउने, प्रकृति र पशुपन्क्षीको सुरक्षा कसरी गर्ने भन्नेबारे सोच्नुपर्छ। बाउआमाले आफ्ना छोराछोरीप्रति गर्नुपर्ने मायाममता, हेरचाह, शिक्षादीक्षा दिने तथा गर्नुपर्ने कर्तव्य र छोराछोरीले आफ्ना बाउआमाप्रति गर्नुपर्ने सम्मान, दाजुभाइ दिदीबहिनीप्रति गर्नुपर्ने आचरणका कुरा छन्। श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानप्रति गर्नुपर्ने कर्तव्य, ज्येष्ठहरूले कनिष्ठहरूप्रति गर्नुपर्ने मायाममता, हेरविचार र मार्गनिर्देशन तथा आफ्ना नाताकुटुम्बलाई नजिक र संगठित कसरी गर्ने भन्नेबारे विभिन्न गुठी र यसका सदस्यका काम, कर्तव्य, मनोरञ्जन र सामाजिक एकता कायम गर्ने सम्बन्धमा सन्देश प्रदान गरिरहेको छ।
यही सारसन्देश अनुरूप गरिने काम, कर्तव्य र आचरण नै हाम्रो जीवनशैली हो, जीवन पद्धति हो। प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी मानिस हो, उसको उठबस, खानपान, आचारविचार, काम, व्यवहार, नम्रता, भद्रता, शिष्टता तथा शालिनता संस्कार र संस्कृतिकै प्रभाव र परिणाम हो। मानिसमा विशिष्ट संस्कार हुनु जरुरी छ। मानिस आफ्नोमात्र स्वार्थ र स्वतन्त्र बाटोमा होइन, समाज र संस्कारको बाटोमा हिँड्नुपर्छ। विडम्बना, बदलिंँदो परिस्थिति र परसंस्कृतिको प्रवेश र प्रभावले हाम्रो संस्कार र संस्कृतिको विमुख भई विकृति र विसङ्गगति बढ्दै गएको छ। हुन त संस्कार जीवन सहज रूपमा अगाडि बढाउन अपनाइने शैली तथा पद्धति हो, तसर्थ समयसापेक्ष परिमार्जन र परिवर्तन आउनुपर्छ, हुनुपर्छ, परिवर्तन हुँदै जाने पनि छ। तर परिमार्जन र परिवर्तनको नाममा मूल र मान्यता नै तहसनहसचाहिँं गरिनु हुँदैन।
समष्टिमा विद्यार्थीलाई नैतिक संस्कार र संस्कृतिसम्बन्धी प्रशिक्षण र प्राज्ञिक ज्ञान दिलाउने गुरु नै हुन्। तसर्थ माता देव भव, पिता देव भव, गुरु देव भव भन्ने हाम्रो संस्कृति र संकार छँदैछ। तद्नुरूप विद्यार्थी संस्कारित हुनुपर्छ। वर्तमान विश्वव्यापिकीकरणको नयाँ परिवेशबाट खानपान, रहनसहन, पहिरनमा आएको प्रभाव र विद्यार्थीहरूमा संस्कार र संस्कृतिको ज्ञान तथा नैतिक शिक्षाको अभावले विसंगति र विकृति बढेको छ। आधुनिक हुँदैमा वैज्ञानिक होइन्छ भन्ने छैन। आध्यात्मिकलाई अन्धविश्वाससाथ पालन गर्नु पनि ठीक हुँदैन।
तसर्थ आध्यात्मिकमा लुकेका वैज्ञानिकता छानेर लिई आजको शिक्षामा समिश्रण गरी लानु हाम्रो पहिचान हुनेछ। श्रुति र श्रवणबाट विकसित हुँदै आएको वेद, त्रेतायुगको रामायण, पाँच हजार वर्ष पुरानो महाभारत, गीता, बौद्ध दर्शनको त्रिपिटक आदिलाई ग्रन्थ, संस्कृति, पूजा, दान, धर्म, पाठ, कथा श्रवण परम्परामा मात्र सीमित गरियो, बढी अन्धविश्वासमा भुलियो। दर्शन दर्शनमै रह्यो, प्रदर्शनमा आएन। समाजमा प्रभावकारिता ल्याउन सकिएन।
सामाजिक न्याय र उत्पादनशील बनाउन सकिएन। सर्वप्राचीन धर्मसिद्धान्तलाई राम्रो/नराम्रो वैज्ञानिक विश्लेषण गरी समयसापेक्ष्य रूपमा व्यावहारिकतामा नल्याई अरुको नक्कलमात्र गर्दा आफ्नो पहिचान रहन्छ र? यस तथ्यलाई पनि चिन्तन र मनन गर्नु सान्दर्भिक हुनेछ।
बालक जीवनको पूर्वार्द्ध अवस्था हो। पूर्वार्द्धको अभ्यास नै भविष्यको आधार हो।
अभ्यासको आधार नै संस्कार हो। शारीरिक, मानसिक एवं बौद्धिक रूपमा शुद्ध र परिस्कृत पार्दै जीवनलाई नियमित, संगठित र अनुशासित तुल्याउन संस्कारको प्रमुख भूमिका रहेकोे हुन्छ। संस्कारले अमंगल र अशुभलाई निषेध गरेर शुभ र मंगल वातावरण सिर्जना गरिदिन्छ।
जन्मदेखि मरणसम्म गरिने कर्मकाण्ड तथा समय-समयमा मनाइने चाडपर्व, संस्कृति र संस्कार परम्पराको रूपमा मात्रै होइन, जीवन निर्वाह गर्ने मूल माध्यम नै हो भन्ने बुझ्नु आवश्यक छ।
तसर्थ यिनै सारसन्देशको विश्लेषण गरी समयसापेक्ष सुधार गर्दै बालकदेखि वृद्धसम्म, मित्रदेखि गुरुसम्म, परिवारदेखि समाजसम्म, घरदेखि स्कुलसम्म सद्व्यवहार, सद्भाव, कर्तव्य तथा अनुशासन पालन गर्नु नै मानव धर्म हो, संस्कृति हो, संस्कार हो, जीवनको प्रमुख शिक्षा हो।