असार महिनाको महिमा

असार महिना गणनाका क्रममा सौर वर्षको तेस्रो महिना हो । कृषि प्रधान हाम्रो देशमा यो वर्षात् शुरु गर्ने शुभ महिना मानिन्छ । ग्रीष्मको कठोर प्रचण्ड गर्मीपछि वर्षा गराई शीतल बनाई हरियाली बनाइदिने असार महत्वपूर्ण महिना हो । पूर्वीय परम्परामा असारको महिमा आफ्नै छ । वर्षभरिकै सार हो– असार । यस महिनामा गरिने धान रोपाइँ र रोपाइँका क्रममा हुने रामरमाइले उत्साहपूर्ण खुशीयाली छाउने अवसर विशेषको रुपमा परिचित, प्रशिद्ध महिना हो– असार ।

हाम्रो संस्कृतिमा यही महिनाको १५ गते अर्थात् असार पन्ध्रलाई हिले पर्व तथा रोपाईं महोत्सवको रुपमा मानिन्छ । किसानहरु रोपाहार, बाउसे, ब्याडे, लाठे मानो खाएर मुरी फलाउने अभियानमा जुट्ने उत्सवको दिन हो यो । ‘असारको हिलो नछोइ गति पाइँदैन’ भन्ने परम्परा अनुसार असार महिनाको ठूलो महत्व छ । धान रोपाइँका लागि सर्वोत्तम समय यही महिनालाई मानिन्छ । राष्ट्रिय अर्थतन्त्रमा धानखेतीले महत्वपूर्ण स्थान ओगटेको छ ।

केही पहाडी भागमा ‘बेठी’ लगाउने परम्परा पनि छ । ‘बेठी’ भन्नाले असारका गीतका गायन र पञ्चै बाजासहितको सांस्कृतिक रोपाइँ भन्ने भन्ने बुझिन्छ । (धनीमानीहरुले रोपाइँ थालनी गर्दा नौमती बाजा बजाएर उत्सवको रुपमा मान्ने परम्परालाई ‘बेठी’ भनिन्छ ।) परम्परागत रुपमा चल्दै आएको बेठी रोपाइँ कतिपय क्षेत्र र जिल्लामा लोप भइसकेको छ । खासगरी पढेलेखेका शिक्षित वर्गले कृषि कर्म गर्न हुँदैन भनेर युवायुवतीमा वितृष्णा बढ्दै गएको पाइन्छ । तर श्रम, सीप, शालीनता (साधना) नै सच्चा नेपालीको परिचय हो । जुन परम्पराको पहिले–पहिले प्राचीन समयमा अझ ठूलो महत्व रहने गर्दथ्यो । यस अवसरमा राजारानीको समेत सवारी भई रानीको हातबाट रोपाइँको शुरुआत गरिन्थ्यो । जसका कारण त्यस्ता भूमि क्षेत्रका रानीखेत, रानीटार, रानीगरा जस्ता नामाकरण हालसम्म पनि रहेको पाइन्छ ।

केही वर्षयता असार पन्ध्रलाई राष्ट्रिय धान दिवसका रुपमा किसानका खेतबारीमा सरकारका तर्फबाट तथा केही राजनेताको सहभागिता रहने र दहीच्यूरा खाने कार्यक्रमको आयोजना गरेको पाइन्छ । हाम्रो देशको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान खेतीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ । वि.स. २०६० सालदेखि असार पन्ध्रलाई धान दिवसको घोषणा गरि यस दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो ।

हाल नेपालमा १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर, कृषि क्षेत्र तथा किसानको हित प्रवद्र्धनमा ठोस एवम् प्रभावकारी योजना नआएका कारण र कृषकले समयमा बीऊ तथा मल नपाइरहेको वर्तमान अवस्थामा मनाइने धान दिवस औपचारिकतामा सीमित रहने गरेको देखिन्छ । सिर्जनाको मूल प्रवाह पनि हो– असार । अर्थात् असार किसानका लागि मात्र होइन भाका, लयमा गीत–संगीत ओराल्ने गायक कलाकारका लागि पनि महत्वपूर्ण मानिन्छ । संस्कृति, सामाजिक रहन सहन, मायाप्रीति, सुख–दुःखका मर्म बोल्दछन् लोकसंस्कृति गीतहरुमा । हाम्रो जनजीवनमा निकटता गासिएको छ – लोकगीतमा ।

धार्मिक सम्बन्ध पनि बोकेको छ असार पन्ध्रले रोपाइँ जात्राका क्रममा धान रोपाइँको थालनी गर्दा ‘सिमेभूमे’ देवता माटो पानीका देवताको पूजा गर्ने परम्परा रहेको छ । माटो, पानी, पृथ्वी यी हाम्रा जीवन प्राणका आधार हुन् । यिनै देवता हुन् ।असारे भाकाका गीतमा पनि यिनको वर्णन गरिएको पाइन्छ । एकअर्कामा सहयोग गर्ने सामाजिक सद्भावको सन्देश पनि दिएको छ यस पर्वले ।

हाम्रो संस्कृतिमा पञ्चपिता (जन्मदिने बाबु, कन्या दिने ससुरा, मन्त्र दिने गुरु, अन्न दिने किसान र भय हर्ने राजा)मध्ये एक किसानलाई मानिएको छ । सबैको प्राण रक्षाका लागि अनिवार्य अन्न उत्पादनमा जीवन समर्पित गर्ने भएको उसलाई पिता समान आदर सम्मान गर्न निर्देशन गरिएको हो । यसरी अन्नदाता किसानको जीवन र किसानप्रति श्रद्धा सबैमा हुनुपर्ने देखिन्छ । तर, कृषि कर्म र किसान उपेक्षित (उपेक्षाको पात्र) बन्दै गएको छ । यसमा सरकार र सम्बन्धित सबैको ध्यान जान जरुरी छ । यसरी सांस्कृतिक दृष्टिकोणबाट होस् वा आर्थिक दृष्टिकोणबाट यति महत्वपूर्ण किसानको जीवनसँग सर्वार्धिक महिमा गाँसिएको असार महिनामा सरकारले किसान र कृषि क्षेत्रको उत्थान हुने राम्रा कृषि नीति र तिनको प्रभावकारी कार्यान्वयन जोड दिन सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *