सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा चलेको छ।
उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका हुन्।
साथै जसपा, नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत क्रियाशील राजनीतिक दलका नेता उपस्थित छन्।
तर उद्घाटन सत्रमा नेकपा (एमाले) भने गएन।
एकीकृत समाजवादीले एमालेलाई पनि निम्तो पठाएको जानकारी दिएको छ। एमालेले एकीकृत समाजवादीलाई दलको मान्यता दिनै अस्वीकार गर्दै आएको छ । तीन वर्षअघि षड्यन्त्रमूलक ढंगले विभाजन गरिएको उसको तर्क छ।
यद्यपि नेकपा (एमाले) को चियापानमा भने एकीकृत समाजवादीलाई निम्तो गरेको थियो।
एमालेको कार्यक्रममा पार्टी अध्यक्ष नेपाल पनि सहभागी भएका छैनन्। २०७८ भदौ २ गते एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको थियो।