८ सय ४७ प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको आगामी राजनीतिक–वैचारिक कार्यदिशा नेपाली विशेषताको समाजवादको कार्यक्रम तय गर्दै आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । दस्ताबेजमा सहमति जुटिसकेको भए पनि नेतृत्वको हानथाप जारी छ ।
करिब तीन वर्षअघि एमालेबाट विद्रोह गरेर गठन भएको सत्तारूढ दल एकीकृत समाजवादीको पहिलोपटक आफ्नो राष्ट्रिय सम्मेलन सुरु हुँदै छ । काठमाडौंको प्रज्ञा भवनमा आइतबारबाट सुरु हुने महाधिवेशनबाट पाँच वर्षका लागि नयाँ नेतृत्व चयन हुँदै छ । महाधिवेशनको दस्ताबेजमा एकता भए पनि नेतृत्वमा भने सहमति छैन ।
२००६ मा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १०औँ महाधिवेशन आयोजना गरिएको महासचिव घनश्याम भुसालले बताए । महाधिवेशनको सबै तयारी पूरा भएको उनले बताए । महाधिवेशनमा १८ सय ४७ प्रतिनिधि सहभागी हुनेछन् । पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था भने यसपटक कार्यान्वयन नगरिएको भुसालले बताए ।
आइतबार भृकुटीमण्डपमा भेला भई जुलुससहित महाधिवेशनस्थल प्रज्ञा भवन पुग्ने र मध्याह्न साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।
२० असारसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल गरिनेछ । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने भएको छ । सम्मानित नेताको व्यवस्था गरिएको छ ।
केन्द्रीय कमिटीले निर्णय गरी वरिष्ठ नेताको पद कायम गर्न सक्ने व्यवस्था विधानमा गरिएको छ । पार्टीका स्वायत्त आयोगहरू ३५ सदस्यीय हुने भएका छन् । केन्द्रीय कमिटीमा महिला, मधेशी, आदिवासी–जनजाति, दलित, मुस्लिम, थारूलगायतका जाति, भाषा र संस्कृतिको समावेशी प्रतिनिधित्व हुनेछ ।
केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका नेताले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । अध्यक्षमा प्रतिस्पर्धा गर्न स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटी, केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको, वा प्रदेश समितिको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ ।
महिला, दलित, सीमान्तकृत, जनजाति र अपांगता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार हुन पाउनेछ ।
नेपाल, खनाल र भुसाल तीनैजना अध्यक्षको दाबेदार, तर सहमतिमै नेतृत्व चयनको दाबी
शीर्ष नेताहरूले सहमतिमै नेतृत्व चयन हुने दाबी गरेका छन् । महाधिवेशनबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका हुन् । यद्यपि, नेपाल, खनाल र भुसाल तीनैजना अध्यक्षको दाबेदार छन् । उनीहरूले नेतृत्वका लागि दौडधुप बढाएका छन् । नेताहरूका अनुसार टिम बनाएर प्रतिस्पर्धामा उत्रिने तयारी छ । तर, टिम घोषणा भने भइसकेको छैन ।
नेपालले दस्ताबेजमा जस्तै नेतृत्वमा पनि सहमतिको प्रयास गरिने बताए । राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको र चुनौतीबाट नडराएको उनले बताए । ‘पार्टीको दस्ताबेजमा जस्तै सहमतिमै नेतृत्व टुंगो लगाइयोस् भन्ने चाहना पाइरहेका छौँ । राजनीतिक घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, अरूलाई पनि आफ्नो पछिपछि ल्याउन सक्ने, नेपालको राजनीतिमा दिशाबोध गर्ने, खुबी र क्षमताको साथ अघि बढेका छौँ,’ उनले भने ।
उनले कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद देखिएकाले त्यसबाट पार्टीलाई जोगाउनुपर्ने बताए । पार्टीले अघि सारेको समाजवादको कार्यक्रममा उभिएर जनताको अगुवाका रूपमा लाग्न उनले आग्रह गरे ।
खनालले पार्टीले अघि सारेको नीतिअनुसार नेतृत्व चयन हुने बताए । नीतिजस्तै महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास उनको छ । महाधिवेशनबाट निकालेको निष्कर्ष लागू गर्ने नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा उनले जोड दिए । ‘अबको नेतृत्व सर्वसम्मत ढंगले निर्माण गरौँ, त्यसले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउँछ । हामी नेताहरूमा केही त्यस्तो ठूलो समस्या छैन । कम्युनिस्ट पार्टीमा नेताहरूबीच बहस हुनु कुनै ठूलो कुरा होइन,’ उनले भने ।
भुसालले नयाँ वाम विकल्प दिने गरी महाधिवेशनले नेतृत्व चयन गर्ने बताए । ‘महाधिवेशनले एकीकृत समाजवादीलाई मात्रै नभई कम्युनिस्ट आन्दोलनलाई नै दिशानिर्देश गर्नेछ । समाजवादी कार्यक्रमलाई बोक्ने निर्णायक शक्तिका रूपमा पार्टी स्थापित हुन्छ,’ उनले भने, ‘हिजो एउटा वाम विकल्प थियो । त्यो भत्केको छ । त्यसलाई समेत जोड्ने दायित्व पूरा गर्न सक्ने गरी एकताबद्ध भएर नेतृत्व चयन गर्नेछौँ ।’ उनले विगत नवौँ महाधिवेशनमा नीति एउटा र नेतृत्व अर्को भएकाले असफल भएको दाबी गरे । कम्युनिस्ट पार्टीमा नीतिअनुसारकै नेतृत्व हुनुपर्नेमा उनको जोड छ ।
सबै पदमा प्रत्यक्ष निर्वाचित हुने विधि तय गरेका छौँ : जीवनराम श्रेष्ठ, महाधिवेशन मूल व्यवस्थापन समिति सचिवालयका सदस्यसचिव तथा केन्द्रीय सचिव, एकीकृत समाजवादी
महाधिवेशनको तयारी कहाँ पुग्यो ?
हामीले सम्पूर्ण तयारी सम्पन्न गरेका छौँ । भृकुटीमण्डपमा जम्मा भएर र्यालीसहित प्रज्ञा भवन जान्छौँ । आइतबार उद्घाटन कार्यक्रम हुन्छ । बन्दसत्र पनि प्रज्ञा भवनमै हुन्छ । महाधिवेशनको सम्पूर्ण कार्यक्रम प्रज्ञा भवनमै राखेका छौँ ।
उद्घाटन सत्रमा क–कसलाई आमन्त्रण गरिएको छ ?
राजनीतिक दलका नेताहरूलाई शुभकामनाका लागि आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाएका छौँ । समाजवादी मोर्चामा रहेका दलका नेतालाई पनि बोलाएका छौँ । उहाँहरूलाई शुभकामनाका लागि समय दिन्छौँ ।
बन्दसत्र कसरी चल्छ ?
सोमबारबाट बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमा दस्ताबेज पेस गर्ने काम हुन्छ । त्यही अवसरमा हामीले कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तित्वलाई पनि सम्मान गर्दै छौँ । बन्दसत्रमा करिब १९ सय प्रतिनिधि सहभागी हुनुहुनेछ । मूल हलमा नअट्ने भएकाले अन्य हलमा स्क्रिन राखेर प्रत्यक्ष हेर्न सकिने गरी तीन–चारवटा हलमा बस्नुहुनेछ । उद्घाटन सत्रका लागि चाहिँ बाहिर पनि ठूला स्क्रिन राखेका छौँ । प्रतिनिधिलाई नास्ता र खानाको व्यवस्था गरिएको छ ।
नेतृत्व चयन कसरी हुन्छ ?
दस्ताबेजलाई व्यापक छलफल गरेर सर्वसहमतिमा ल्याएका छौँ । हामीले पहिलोपल्ट नेपाली विशेषताको समाजवादको कार्यक्रमलाई क्रान्तिको कार्यक्रम भनेर ल्याएका छौँ । यो नेपालको कम्युनिस्ट आन्दोलनमा विचारका रूपमा पहिलोपटक संस्थागत रूपमा ल्याउने काम गरेका छौँ । विधान संशोधन प्रस्ताव पनि लाँदै छौँ । २१ जना पदाधिकारीसहितको २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुनेछ । सम्मानित नेताको पद सुरक्षित गरिएको छ । वरिष्ठ उपाध्यक्ष र आवश्यकताअनुसार वरिष्ठ नेताहरू राख्न सकिने व्यवस्था गरिएको छ । यी सबै पदमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने विधि तय गरेका छौँ ।