काठमाडौँ – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्स श्रद्धा पौडेलका अनुसार वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् ।
भेलसँगै बगेर आउने पानीको मुहान दूषित हुने, गर्मीमा बढी झिँगा भन्किने र खानेकुरा पनि छिटै बासी हुने हुनाले खानेकुराहरुमा विशेष ध्यान दिन उनको सुझाव छ ।
यस्ता सडेका खानेकुराबाट भाइरस वा ब्याक्टेरिया आदि उत्पन्न हुन्छन । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छन् । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने कुरामा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।
गर्मी मौसममा स्वास्थ्यमा पर्न सक्ने मुख्य समस्याहरु यस्ता छन्ः
- घामले शरीर पोलेर कालो बनाउने
- धेरै पसिना आउने
- गर्मी अति नै हुँदा ‘हाइपरथर्मिया’ बिमारी हुनसक्ने
- वाकवाकी लाग्ने
- टाउको दुख्ने
- रिँगटा लाग्ने
- आँखा पाक्ने वा हेर्न कठिनाइ हुने
- बेहोस हुने
- नाथ्री फुटेर नाकबाट रगत आउने
- घाउ खटिरा तथा घमौरा निस्कने
- ज्वरो आउने
- छालालाई तापक्रम सन्तुलित बनाउन समस्या हुँदा निकै रातो हुने
- डिहाइड्रेसन्
- झाडाबान्ता, हैजा आदि समस्या हुने
- पाखुरा र खुट्टाका मांसपेशी दुख्ने वा शिथिल हुने
गर्मीयाममा स्वस्थ्य रहन के गर्ने ?
राति सुत्दा लामखुट्टे, उडुस, उपियाँ, भुसुना आदिले टोकेमा निद्रा नपुग्ने हुनसक्छ । यसका साथै मलेरिया, ईन्सेफ्लाईटिस जस्ता रोग पनि लाग्न सक्ने भएकोले यसबाट बच्न झुल लगाएर सुत्नु सबैभन्दा उत्तम उपाय हो । तर कसैकसैलाई झुल लगाउन अप्ठ्यारो लाग्न सक्छ ।
त्यसैले झ्यालढोकामा जाली राखेर वा लामखुट्टे आदि तह लगाएर बस्न सकिन्छ । यसका लागि घर वरिपरि हरियाली बनाउनुका साथै पानीका खाल्टा, फोहोर, गाईबस्तुको गोबर र कीरा फट्याङ्ग्रा उत्पन्न हुने स्रोत सफा गरेर चुना छरेमा लामखुट्टेजस्ता किराबाट बच्न सकिन्छ ।
यसका साथै गर्मीयाममा हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागी सनग्लासको प्रयोग गर्ने, छालाको सुरक्षाको लागी सनइस्क्रिन क्रिमको प्रयोग गर्न सकिन्छ । साथै घाममा छाता ओडेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैसँग बोकेर हिँड्ने जस्ता उपायहरु अपनाउन सकिन्छ ।
गर्मी भए पनि बिहान सबेरै उठेर व्यायाम गर्ने, पैदल हिँड््ने जस्ता गतिविधि गरेमा शरीर फुर्तिलो हुन्छ ।
यो मौसममा जीवनशैली व्यवस्थित गर्न सकियो भने युरिक एसिड र कोलेस्टोरल उच्च भएको साथै मधुमेहको बिमारीबाट राहत पाउन सकिन्छ । एकैपटक धेरै नखाने तर थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने, बरफयुक्त र गुलियो पेयले छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु नै बेस हुन्छ ।
वर्षाको मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्छ, यसो गर्दा गर्मीको मौसममा शारीरिक समस्या वा जटिलताबाट राहत मिल्छ ।
गर्मी भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल आदि खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा र अरुबेला सकेसम्म नखानु सबैभन्दा राम्रो हुन्छ ।
के कस्ता खाना गर्मीका लागी उपयुक्त ?
खरबुजा, काँक्रो वा खिरा, ‘बेरी’ प्रजातिका फल, मेवा, उखु वा नरिवलको रस, गर्मीका उत्तम फल मानिन्छन । नरिवलको पानीलाई प्राकृतिक इर्नजी डिङ«का रूपमा लिइन्छ ।
पोटासियमको मात्रा उच्च भएकाले उच्चरक्तचाप र मुटुका लागि पनि नरिवल–पानी उपयोगी मानिएको छ । नरिवलको पानीमा केरामा भन्दा बढी पोटासियमको मात्रा भएको हुदाँ स्वास्थ्यका लागी लाभदायक मानिन्छ ।
गर्मी याममा नरिवलको पानी पिउनाले डिहाइड्रेसको समस्या नहुने , कलेजो, मिर्गौला पाचनप्रणाली र उच्च रक्तचाप, मधुमेहमा पनि उत्तम मानिन्छ ।
दही, मोही वा लस्सी, ताजा कागतीको रस मिसाएको पानी , बेलको सर्बत आदि पनि उत्तिकै उपयोगी छन् । त्यस्तै टमाटर, प्याज, मूला, काँक्रो, गाजर मिलाइएको सलाद, झोलयुक्त रसदार खानेकुराहरू पनि खाने बानी बसाल्नुपर्छ ।
ताजा पुदिनाको चटनी, सुखा पापड, अदुवा, लसुन, हरियो खुर्सानी ‘गर्मी काट्ने’ राम्रा खाद्यपदार्थ हुन । पानी उमालेर पिउने गर्दा पनि गर्मीयामका ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ ।
यो मौसममा झाडाबान्ता, आउँ, जन्डिस हेपाटाइटिस, टाइफाइड, जुका, मलेरिया फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी अत्यन्त आवश्यक रहने चिकित्सकको सुझाव छ ।