अमेरिकी नागरिक लेठेन, अस्ट्रेलियाकी एमिली, चिनियाँ सिचुवान लगायत विदेशी पर्यटक शनिबार पोखराका खेतमा भेटिए। धान रोप्न ठिक्क पारिएको खेतमा उनीहरूले आपसमा हिलो खेले। नेपालीले धान रोपेको हेरे। नेपाली संस्कृति र संगीतमा रमाए।
दक्षिण अमेरिकाको मिसिसीपीबाट तीन हप्ताअघि पहिलोपटक नेपाल आएकी लेठेन पोखराका विभिन्न स्कुलमा अंग्रेजी पढाउँछिन्। अब उनको नेपाल बसाइ एक साता मात्र बाँकी छ। अमेरिकामा किसान परिवारकी लेठेनले नेपालीले सामूहिक भावनाका साथ कृषिमा लाग्ने संस्कृति देखेर आफू अचम्म परेको बताइन्।
‘नेपालमा धान रोप्ने तरिका एकदमै रमाइलो रहेछ। मेरा विद्यार्थीहरू पनि अहिले धान रोप्न गइराखेका छन्। धान रोप्न स्कुलमा बिदा दिइएको छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘नेपालीहरू आपसमा मिलेर काम गरेको देख्दा अत्यन्त खुसी लाग्यो।’
नेपालीको मुख्य खाद्यवाली धान हो। अमेरिकामा धान खेती खासै नहुने उनले बताइन्। उनका परिवार मकै रोप्छन्। खेतीका तरिका पनि नेपालमा भन्दा अमेरिकामा एकदमै फरक रहेको उनले सुनाइन्।
हिलो खेलेर मैदानमा निस्किएकी अस्ट्रेलियाकी एमिली नेपाल आएको दुई साता मात्र भयो। उनी पनि पोखरा आसपासका स्कुलमा अंग्रेजी पढाउँछिन्। उनी स्वंयसेवकका रूपमा आएकी हुन्। नेपालमा खेतीपाती गर्दा एउटा ठूलो परिवार मिलेर काम गरे जस्तो देखिएको उनले बताइन्।
‘नेपालीहरू एउटै ठूलो परिवार मिलेर बसेको जस्तो लाग्छ। सबै काम मिलेर गर्दा रहेछन्,’ एमिलीले भनिन्।
अस्ट्रेलियामा मकै, गहुँ, उवा जस्ता अन्नबाली रोपेको देखेकी उनले समुदाय नै मिलेर धान रोपेको पहिलोपटक देखेको बताइन्।
हिलो खेल्ने त्यही समूहमा थिइन् चीनकी सिचुवान। एक महिनाका लागि नेपाल आएकी उनको पोखरा बसाइ अझै तीन साता बाँकी छ। उनी पनि पोखराका प्राथमिक विद्यालयमा स्वयंसेवकका रूपमा काम गर्छिन्।
नेपाल र तिब्बतमा बुद्ध धर्म मान्ने परम्परामा केही समानता पाएकी उनले जीवनशैली र कृषि संस्कृति भने पूरै फरक पाएको बताइन्।
‘नेपालमा र तिब्बतमा उस्तै उस्तै तरिकाले बुद्ध धर्म मान्दा रहेछन्। अरू कुरा पूरै फरक छ,’ उनले भनिन्, ‘मैले नेपालीमा धेरै आत्मीयता भेटेँ।’
इरानी पर्यटक महित तीन महिनाका लागि नेपाल आएकी हुन्। उनले एक महिना नेपालमा बिताइसकिन्। एक साता काठमाडौं घुमेर पोखरा आएकी महित यहाँको मोहनीमा परेको बताउँछिन्। पोखराबाहेक अन्यत्र जाने योजना पनि अहिलेसम्म उनले बनाएकी छैनन्।
‘पोखरा एकदम राम्रो छ। मैले दिनदिनै नयाँ नयाँ अनुभव गरिराखेकी छ,’ उनले भनिन्, ‘यहाँ मलाई जे चाहिएको छ, सबै कुरा पाएकी छु। पोखरामा बस्ने मान्छे पनि आत्मीय भावनाका रहेछन्।’
पोखरा पर्यटन परिषदले विगत १९ वर्षदेखि पर्यटकलाई सहभागी गराएर असार १५ गते रोपाइँ महोत्सव गर्दै आएको छ। शनिबार फेवातालको सिरान फेवाफाँटमा आयोजित महोत्सवमा गायिका समिक्षा अधिकारीले गीत गाउँदा महित मज्जाले नाचिन्। नेपाली संगीतमा नाच्न पाउँदा निक्कै खुसी लागेको उनले बताइन्।
‘म तल भुइँमा नाचिरहेकी थिएँ। मेरो नाच देखेर आयोजकले मलाई स्टेजमा बोलाए,’ उनले भनिन्, ‘अरू कुनै पनि ठाउँमा यसरी स्टेजमा नाच्न बोलाउने चलन हुँदैन।’
इरान, इन्डोनेसिया लगायत देशमा पनि धान रोपिन्छ। तर नेपालमा जसरी संस्कृतिका रूपमा मनाउने चलन नभएको उनले बताइन्।
‘नेपालमा धान रोप्ने संस्कृति नै रहेछ। यसलाई उत्सवका रूपमा नेपालीले मनाउँदा रहेछन्,’ उनले भनिन्, ‘धान रोप्न कति गाह्रो हुन्छ भनेर उत्सवका रूपमा व्यक्त गरेका होलान्।’
न्युजिल्यान्डबाट नेपाल घुम्न आएकी रेविका फट मे मध्यदेखि नेपालमा छिन्। चिसो पानीले भिजेको चिसो हिलो खेल्न पाउँदा रमाइलो लागेको उनले बताइन्। गोरू लगाएर, खेत सम्याएर धान रोप्ने चलन यसअघि नदेखेको उनले बताइन्।
‘नेपालमा गोरू लगाएर धान रोप्ने संस्कृति एकदम अनौठो लाग्यो। परिवार, छरछिमेक आएर धान रोप्ने परम्परा रहेछ,’ उनले भनिन्, ‘सँगै बस्ने, सँगै खाने र सँगै काम गर्ने नेपालीको संस्कृति अनुपम रहेछ।’
रेविका यसअघि नेपालका दक्षिणी क्षेत्रमा घुमेकी रहिछन्। त्यतिबेला नेपालीले मकै रोपिरहेका थिए। केही ठाउँमा चैते धान पनि रोपिँदै थियो। उनले नेपाली मिलेर खुसियालीसाथ काम गरेको देख्दा आफूलाई प्रेरणा मिलेको बताइन्।
‘मलाई आगोमा पकाएको नेपाली दालभात मनपर्छ। प्रेमिल नेपालीहरु खुसी भएर काम गर्दा रहेछन्। उनीहरूले ल्याएको ऊर्जा एकदम प्रेरणादायक छ मेरा लागि,’ उनले भनिन्।
जर्जियाकी जेनिफरको पनि उस्तै अनुभव छ। नेपालीको कृषि संस्कृति धान रोपाइँ हेर्न जान प्रस्ताव आउँदा यति रमाइलो होला भनेर उनले कल्पना गरेकी थिइनन्।
‘धान रोप्दा नेपालीहरूले मिलेर यस्तो रमाइलो गर्लान् भनेर मैले अपेक्षा गरेकी थिइनँ,’ उनले भनिन्, ‘नेपालीहरु खेल्दै काम गर्दा रहेछन्।’
फेवाफाँटमा स्थानीय फविन्द्र गुरूङ लगायत चार जना किसानको खेतमा शनिबार रोपाइँ महोत्सव गरिएको हो। पर्यटनमा ‘अफ सिजन’ हुँदैन भनेर १९ वर्षअघिबाट यस्तो महोत्सव गर्न थालेको पोखरा पर्यटन परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले थिए।
‘हाम्रोमा अक्टोबर र फेब्रुअरीलाई मात्र पर्यटक सिजन मान्ने परम्परा छ। वर्षा र जाडोलाई अफ सिजन मानिन्छ,’ केसीले भने, ‘पर्यटकहरू वर्षा र जाडो याममा पनि नेपाल आउन सक्छन् भनेर हामीले रोपाइँ महोत्सव सुरू गरेका हौं।’
पर्यटकलाई शितल सहर पोखरामा वर्षा याममा धान रोप्ने संस्कृति र वर्षा हेर्न पनि बोलाउन सकिने भन्दै उनले जाडो याममा हिउँ हेर्न बोलाउन सकिने बताए। यसका लागि पर्यटक आकर्षण गर्न सक्ने ‘प्रडक्ट’ बनाउन सक्नुपर्ने उनको भनाइ छ।
रोपाइँ महोत्सवले पर्यटकलाई मात्र नभएर नेपालको कृषि परम्परालाई पनि प्रोत्साहन गर्ने उनले बताए। महोत्सवमा पर्यटकको आकर्षणका लागि हिलोमा भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, माछा समात्ने र सांगीतिक कार्यक्रम गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
रोपाइँ संस्कृति देखेर पर्यटक खुसी भएको भन्दै उनले अब वर्खामा यही संस्कृतिबाट पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन्।
‘हाम्रो जस्तो रोपाइँ संस्कृति अरू देशमा छैन। यस्तो संस्कृति देखेर पर्यटक आश्चर्यमा परेका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा वर्खा याममा नेपालको रोपाइँ हेर्न जानुपर्छ भनेर प्रवर्द्धन गर्नुपर्ने देखियो।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रकृति र संस्कृति देखाएर पर्यटक लोभ्याउन सकिने बताए। पोखराको प्रकृति देखेर पर्यटक लोभिने गरे पनि संस्कृति उजागर गर्न नसकिएको उनले बताए।
‘नेपालमा अर्मपर्म गरेर धान रोप्छन्। नेपालको कृषि संस्कृति अन्यत्रभन्दा एकदमै भिन्न छ भनेर देखाउन सक्नुपर्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्छ।’
फेवाफाँटमा खेत सम्याउँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाँण्डे । तस्बिरः नरहरि सापकोटा। @ सेताे पाटि