आयुर्वेद एक प्राचिन चिकित्साशास्त्र हो । आयुर्वेदले भन्छ-मान्छेको स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ । साथै तीन दोष (वात, पित्त र कफ)को असन्तुनले शरीर रोगी हुन्छ ।
आहार, विहार र विचारले मान्छेको शरीरमा गहिरो प्रभाव पार्ने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदले प्राकृतिक विधिबाट कसरी जीवनलाई सधैभर स्वस्थ, तन्दुरुस्त राख्ने भनेर निर्देश गरेको छ । यसैको एउटा पाटो हो, नुहाउने विधि पनि ।
सुन्दा त सामान्य लाग्छ नुहाउने कुरा । तर, स्वस्थ शरीरका लागि नुहाउने तौर तरिकाले पनि प्रभाव पार्छ ।
सबैलाई थाहा भएकै कुरा हो, शरीरिक शुद्धिको एउटा तरिका हो नुहाउनु । अर्थात पानीले शरीरको धुलो, मैलो पखाल्नु । आयुर्वेदको नियम अनुसार हरेक दिन शरीरलाई शुद्ध गर्न नुहाउनुपर्छ ।
बिहानको समयमा नुहाउनु उत्तम मानिन्छ । खासगरी बिहानको नित्य कर्म (दिसा–पिसाब त्याग) पछि शरीरलाई शुद्धि गर्न नुहाउनुपर्छ । नुहाउनुको सोझो अर्थ भनेको शरीरको बाह्य विकार पखाल्नु नै हो ।
हाम्रो शरीरमा बाह्य वातावरण र शरीर भित्रबाट विभिन्न दूषित हुन्छ । जस्तो धुलोको कण, धूँवा आदि हाम्रो छालामा टाँसिन्छ । छालामा असंख्यौं छिद्र हुन्छ, जसलाई बाहिरी धुलो–मैलाले पुरिदिन्छ । जबकि शरीरभित्र पैदा हुने कतिपय विकार त्यही छालाको छिद्रबाट बाहिर आउनुपर्ने हुन्छ । पसिनाको माध्यामबाट त्यस्तो विकार छाला बाहिर आउँछ ।
एकातिर बाह्य प्रदूषण छालामा टाँसिने र शरीर भित्र पैदा हुने विकार पनि बाहिर निस्कन नपाउने स्थितीले शरीरलाई रोगी बनाउँछ । त्यसैले शरीरलाई शुद्ध, ताजा राख्नका लागि नुहाउनुपर्छ ।
सफा पानीले नुहाउँदा छालामा रहेका मैला, मृत्त कोषिका, दुर्गन्ध हटाउँछ । यसले शरीरको तापमानलाई सन्तुलन राख्न पनि भूमिका खेल्छ ।
आयुर्वेदको नियमअनुसार सूर्योदयअघि नुहाउनु सर्वोत्तम हो । सूर्योअस्तपछि नुहाउन उपयुक्त मानिदैन । बिहान उठेर सौच क्रिया सकेपछि हल्का शारीरिक व्यायाम गर्नुपर्छ । त्यसपछि नुहाउनु राम्रो हो ।
नुहाउनुअघि मनतातो पानी पिउनु सुझाइएको छ । यसले पाचन यन्त्रलाई बलियो बनाउनका साथै शरीरको तापमान सन्तुलित राख्न मद्दत गर्छ ।
कतिपयले दौडिएपछि वा कडा श्रम गरेपछि शरीर तातो हुँदा नै चिसो पानीले नुहाउने गर्छन् । आयुर्वेदअनुसार यसरी नुहाउन राम्रो मानिदैन । शरीरको तापमान उच्च भइरहेको बेला अचानक चिसो पानीमा नुहाउँदा त्यसले हानि गर्ने बताइएको छ । खासगरी शरीरको तापमान असन्तुलित भएर चिसो लाग्ने, रुघा खोकी लाग्ने जोखिम हुन्छ ।
आयुर्वेदअनुसार नुहाउँदा शीर अर्थात टाउकोबाट सुरु गर्नुपर्छ । र, क्रमस शरीर पखाल्नुपर्छ । संभव भएमा औषधिय गुणको वनस्पति, फूल वा जडिबुटी मिश्रित पानीले नुहाउनु उचित हुन्छ ।
आयुर्वेदअनुसार चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ ।
यद्यपि आजको समयमा आयुर्वेदको सबै विधिहरु पालना गरिरहँदा आफ्नो अनुकुलता वा स्वास्थ्य स्थिती पनि ख्याल राख्नुपर्ने हुन्छ । कतिपय रोग लागेकाहरु, औषधि उपचार गराइहेकाहरु, सुत्केरी, बुढापाका आदिले आफ्नो अनुकुलता अनुसार नुहाउन सक्छन् । भूगोलअनुसार पनि नुहाउने तालिका फरक हुनसक्छ । यद्यपि नुहाउनु शारीरिक शुद्धिको एउटा राम्रो तरिका हो । यसलाई आयुर्वेदमा चिकित्सकिय गतिविधिकै रुपमा लिइन्छ ।
आयुर्वेदअनुसार सात किसिमको स्नान
मन्त्र स्नान : मन्त्र पाठ गर्दै नुहाउने विधि । जसले शरीरसँगै मन र आत्मलाई पनि शुद्ध गर्छ भनिन्छ ।
अग्नी स्नान : शरीरमा खरानी लगाएर नुहाउने ।
भौम स्नान : शरीरमामाटो लगाएर नुहाउने
वायव्य स्नान : शरीरमा गाईको खुरको धुलो लगाएर नुहाउने ।
मानसिक स्नान : आत्मचिन्तन गर्ने र मन्त्र जप गर्ने ।
वरुण स्नान : पानीमा डुब्की लगाएर नुहाउने ।
दिव्य स्नान : सूर्यको किरणमा वर्षाको पानीले स्नान गर्ने ।
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन
बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत)
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत